काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गरेका छन् ।बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गरेका थिए । संसदबाट प्रचण्डलाई चुनौती दिँदै पोखरेलले भने, ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्नुस्, होइन भने उहाँले क्षमा माग्नुपर्छ ।’
हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् । अन्यथा एमालेलाई अनावश्यक आरोप लगाउने कार्य नर्गन उनको चुनौती छ । उनी थप्छन्, ‘केपी ओलीले नेतृत्व गर्दा म उपप्रधान एवं रक्षा मन्त्री थिएँ । यदि त्यसबेलाका कुनै लिखतहरु, माइनटहरु छन् भने संसदमा प्रस्तुत गरियोस । म पूर्ण रुपमा जिम्मेवारी लिन्छु ।
तर, वर्तमान सरकारले परराष्ट्रनीतिलाई कमजोर पार्ने प्रयास गरेको र यस्तो दुषित मनसायका साथ परराष्ट्र नीतिका सम्बन्धमा हुन लागेका गतिविधिहरुमा एमालेले खबरदारी गरेको उनको भनाई छ । उनी भन्छन्, ‘देशलाई गुमराहमा राख्ने कुराहरुको एमाले निन्दा गर्दछ ।


प्रतिक्रिया