काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् । एमालेलाई विरोधी शक्तिहरुले हराउन नसक्ने भए पनि पार्टीभित्रैबाट घात गर्नेहरु निस्केका ओलीले बताए । बिहीबार काठमाडौंका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै सकुनीहरु निस्केको टिप्पणी गरे ।
‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुृई तिहाइमा थियौं’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’ उनले अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको उदाहरण दिए ।
ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएको बताए ।
‘अथवा अढाइ सय भोट हामीले अरु थप्ने हो भने हाम्रो विजय थप ८८ सिटमा हाम्रो वियज हुन्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अढाइ सय भोट किज आएन म धेरै भन्न चाहन्न, हाम्रो आफ्नै कारणले त्यति मात्र सच्चिने हो भने ८८ सिट थपिन्थ्यो ।’


प्रतिक्रिया