समाचार

धादिङमा बाढी–पहिरोले ७५ घरपरिवार विस्थापित


काठमाडौँ – तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी–पहिरोबाट त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।

गंगाजमुना–६, बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरू गए रातिदेखि घर छाडेर अन्यत्र गएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना–६, बुढाथुममा १४, गंगाजमुना–५, फूलखर्कमा १४ घर, वडा नम्बर–२, रिमा १३ घरपरिवार विस्थापित भएको जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्ट समेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् ।

गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको जानकारी दिए । कच्ची सडक खन्दा ध्यान नदिएका कारण पहिरो आउँदा क्षति पुगेको नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताए ।

शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरोपीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।