Breaking

पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासंघको आपत्ति


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर साहको हर्कतले प्रेस स्वतन्त्रतामा आँच पुगेको दाबी गरेको छ ।

काठमाडौँको टेकुस्थित फोहोर प्रशोधन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सञ्चारकर्मीलाई बालेनले रोक लगाएका थिए । त्यस क्रममा पत्रकार र क्यामराम्यानमाथि दुर्व्यवहार गरिएको र खिचिएका फुटेजहरू डिलिट गर्न लगाइएको दाबी हिमालय टेलिभिजनले गरेको छ । बालेन र उनको सचिवालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

घटना विवरणअनुसार हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामराम्यान अभिष्ट लामा दिउसो दुई बजेतिर टेकुस्थित वातावरण तथा कृषि विभागमा पुगेका थिए ।

त्यहाँ रहेको बायो प्लान्टमा कसरी काठमाडौँको फोहोरलाई ऊर्जामा परिणत गरिँदै छ भनेर रिपोर्टिङ गर्न गएको मिश्रले बताएका छन् । वातावरण विभागमा गएर प्रमुख सरिता राईसँग कुराकानी गरेका थिए । त्यसपश्चात् उनीहरू केही बेर त्यहाँका इन्जिनियरको पर्खाइमा बस्दा बालेन साह अनुगमनका क्रममा सहयोगीसहित विभागभित्र प्रवेश गरे ।

मेयर साहलाई देखेपछि पत्रकार मिश्र उत्साहित हुँदै उनको ‘बाइट’ खिच्न दौडिए भने पछिपछि अभिष्टले क्यामराले खिच्न थाले । आफ्नो अगाडि अचानक बुम तेर्सिएको देखेपछि बालेन केही झस्किएका थिए ।
उनले सोधे, ‘अरे के हो रु कसको अनुमति लिएर आएको ?’

आफूहरू रिपोर्टिङका लागि आएको प्रिन्सले बताएपछि बालेन्द्रले उनीहरूलाई भिडियो नखिच्न आग्रह गरे । उनले सहयोगीलाई ‘फुटेज’ चेक गर्न भनेको भिडियोमा देखिन्छ । हिमालय टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा बालेनले पत्रकार प्रिन्सलाई ‘तिमी’ सम्बोधन गरेका छन् ।

‘तिम्रो क्यामरा नै हिमालय टेलिभिजन भएपछि के हुन्छ ? ’ भिडियोमा बालेनले भनेका छन् ।

त्यसपछि पत्रकारले भन्छन्, ‘त्यो त भयो । तर मसँग पर्सनल त तपाईँको रिलेसन राम्रो हुनुपरो नि ।’
बालेन जवाफ दिन्छन्, ‘तिमीसँग पर्सनल केही छैन । सबै मेरो लागि बराबर हो ।’

त्यसपछि बालेनले फुटेज हेर्न सहयोगीलाई अह्राउँछन् । बालेनको आदेशपछि सहयोगीले आफूलाई कब्जामा लिएर क्यामराको फुटेज डिलिट गर्न लगाएको र त्यहाँबाट बाहिर निकालेको दाबी क्यामराम्यान अभिष्टको छ । पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।