काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।
टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।
अमेरिकाका लागि सुशान्त मोदानीले ५४ र गाजानन्द सिंहले ५८ रनको पाली खेलेका थिए । आरोन जोन्स ४३ रन बनाएर आउट भए । नेपालका लागि करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट लिएका थिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि भने सुरुवात राम्रो रहन सकेन । व्यक्तिगत १० रनमा कुशल भुर्तेल आउट हुँदा अर्का ओपनर आसिफ शेखले १८ रन बनाए ।
त्यस्तै रोहित पौडेल १६ रन बनाएर आउट हुँदा देव खनाल व्यक्तिगत ३४ रन बनाउँदा रन आउट हुन पुगे । दीपेन्द्रसिंह ऐरी पनि ७ रन बनाएर पवेलियन फर्किए । त्यतिबेलासम्म नेपाल ५ विकेट गुमाएर ९३ रनको अवस्थामा पुगेको थियो ।
त्यसपछि आरिफ र सोमपालले १०६ रनको शतकीय साझेदारी गरेका थिए । आरिफले व्यक्तिगत ६३ रन बनाए भने सोमपाल ४७ रनमा रन आउट भए । यद्यपि उनीहरुले टोलीलाई जित दिलाउन भने सकेनन् ।
त्यसपछि आएका कुनै पनि ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् र नेपालले अमेरिकालाई नतिजा सुम्पियो । यससँगै लिगमा १६ खेल खेलेको नेपाल १५ अंकसहित पाँचौं स्थानमा यथावत छ । अमेरिकाले २४ खेलबाट २३ अंक जोडेको छ ।
लिगअन्तर्गत आगामी जुलाईमा नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ ।
प्रतिक्रिया