Breaking

बालेनको बलमास्वतन्त्र उम्मेदवारी घोषणाको लहर, प्रतिनिधिसभामा सायमीदेखि दर्शनासम्मका अनुहार


काठमाडौँ — राजनीतिक दलका कामकारबाहीले जनतालाई कहिल्यै खुशी पार्न सकेन । जनउत्तरदायी हुनै छोडेपछि दलहरुलाई गाली गर्नेको संख्या बढ्दै गएको छ । जनताले दलहरुको विकल्प खोजिरहेका बेला स्वतन्त्र उम्मेदवारी दिनेप्रति आक्रार्षण बढ्दो छ । जुन आगामी प्रतिनिधिसभामा समेत देखिँदैछ ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले आयोजना गरेको धन्यवाद ¥यालीमा उनका पराजित प्रतिद्वन्द्वी सुमन सायमी उनी सँगसँगै देखिए ।

बालेनको जित र सायमीको हारपछि पनिएउटै फ्रेममा देखिएका उनीहरुबीच आगामी संसदीय निर्वाचनमा सहकार्यको सम्भावना देखियो । र बालेनको टीमले सघाउने चर्चासमेत भए । केहीसमय पछि सायमीले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको विषय सार्वजनिक भएपछि शंकाले सार्थकता पायो । तथापी कुन क्षेत्रबाट उम्मेदवारी दिने टुंगिएको छैन । उम्मेदवारीकै लहरमा काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम अघि सरेका छन् ।

यसअघि विवेकशील साझामा सक्रिय रहेपनि स्वतन्त्र रुपमै उम्मेदवारी दिने तयारी बमको छ । स्वतन्त्र रुपमै उम्मेदवारी दिने तयारी विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाको पनि छ । २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी दर्शना पछिल्लो समय पार्टी राजनीतिमा निष्क्रिय छिन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र भिड्ने उनको तयारी छ ।तथापी दलगत रुपमा उम्मेदवारी दिनेहरु पनि देखिन थालेका छन् । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले समेत काठमाडौंमै उम्मेदवारी दिने घोषणा गरेकी छिन् । पाँच नम्बर क्षेत्र उनको रोजाई भएपनि ७ बाट पनि दिन सक्ने तयारी उनको छ ।

काठमाडौंमा जसपाको अवस्था निकै कमजोर छ । यहाँ ठूला पार्टीबाहेकका उम्मेदवारीलाई चुनाव जित्नु फलाम चपाए जस्तै हो । तर व्यक्ति राम्रो भए मतदाताले जिताइदिनसक्छन् भन्ने सम्भावनालाई आँकेर यमीले उम्मेदवारी दिनेको आँट गरेकी छिन् ।त्यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि महानगरको मेयरमा निर्वाचित बालेन शाह समेत बल बनेका छन् ।

बालेनको जितलाई आधार बनाएर काठमाडौंका मतदाताले स्वतन्त्रलाई पत्याउन सक्छन् भन्ने पुष्टि भएपछि दलमै सक्रिय रहेकाहरु पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिन लालयित भएका हुन् । राप्रपामा आवद्ध भएपनि गायक सञ्जय श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।उसैगरि काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वडीआइजी रमेश खरेलले समेत उम्मेदवारी दिने तयारी गरेका छन् ।मुख्यतः यतिबेला सबैको लगाव काठमाडौंको क्षेत्र नम्बर एक र पाँचमा देखिएको छ । तर रैथाने दलहरुले उनीहरुलाई चुनाव जितेर देखाउन चुनौती दिइरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह र धरान उपमहानगरमा हर्क सम्पाङ राईले स्वतन्त्र उम्मेदवारी दिएरै लोभलाग्दो जित निकालेका छन् ।देशभरका करिब ४ सय स्थानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जसलाई बल बनाएर स्वतन्त्र उम्मेदवार बन्ने लहर चलेको छ । आगामी मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारीमा सरकार र निर्वाचन आयोग छ ।ठिक यसैबेला सलबलाएका स्वतन्त्रहरुले राजनीतिक दललाई दबाब दिइरहेका छन् ।