काठमाडौँ — पहिलो पटक अरबी मुलुक कतारमा हुन लागेको विश्वकप फुबलमा सहभागी हुने ३२ वटै टिमको टुंगो लागेको छ । उत्तर अमेरिकी देश कोस्टारिकाले कतारका लागि आफ्नो स्थान सुरक्षित गरेसँगै सामेल हुने सबै टिमको छिनोफानो भएको हो । विश्वकप आयोजक राष्ट्र कतारबाहेक अन्य कुनै मुलुक हुन्थ्यो भने यतिखेर विश्वकपको खेलले माहोल तताएको हुन्थ्यो । तर, अत्यधिक गर्मीका कारण जाडो याममा सारिएको विश्वकपमा सामेल हुने ३२ वटै राष्ट्रको टुंगो अहिले बल्ल लागेको छ । विश्वकपमा खेल्ने सबै राष्ट्रको टुंगो लागेपछि अब भने बल्ल फुटबलको माहोल तात्न थालेको छ ।
कतार विश्वकप २०२२ का लागि अन्तिम टिकट काट्ने राष्ट्र बन्यो कोस्टारिका । हिजो राति भएको अन्तिम प्ले अफको म्याचमा न्युजिल्याण्डलाई १–० ले पराजित गर्दै विश्वकपका लागि कोस्टारिकाले आफ्नो सिट सुरक्षित गरेको हो । प्लेअफबाट विश्वकपमा स्थान बनाएको कोस्टारिकाका लागि विश्वकप यात्रा सहज भने हुने देखिदैन । किनभने कोस्टारिका रहेको समूह ईमा विश्वपावर हाउस राष्ट्र स्पेन, जर्मनी, जापान जस्ता देश रहेका छन् । यसलाई ग्रुप अफ डेथ नै मान्न सकिन्छ ।
यसपटक कतार विश्वकप छनोट रोचक बन्यो । एकातिर विश्व फुटबलका पावरहाउस देश विश्वकपमा छनोट हुन सकेन भने अर्कातिर दशकौंदेखि विश्वकप खेल्न नसकेका राष्ट्रहरुको पुनरागमन भयो । जसमा बेल्स र क्यानडा परेका छन् । बेल्सले ६४ वर्षपछि विश्वकपका लागि आफूलाई सक्षम बनाउदा ३६ वर्षपछि क्यानडाले पनि आफ्नो उपस्थिति जनायो । त्यस्तै चार पटकको विश्व विजेता इटाली भने यस पटक पनि विश्वकपमा छनोट हुन सकेन ।
पहिलो प्लेअफमा नर्थ मासाडानियासँग पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको थियो । इटाली योसँगै लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन चुक्यो । रसिया–युक्रेन युद्धबाट रसियालाई विश्वकपमा पनि ठूलो घाटा भयो । युद्धकै कारण रसिया विश्वकपको प्लेअफ खेल्नबाटै वञ्चित बन्यो । जसको प्रत्यक्ष रुपमा फाइदा पोल्याण्डलाई भयो । त्यस्तै युद्धबाट बिछिप्त बनेको अर्काे मुलुक युक्रेन पनि कतार विश्वकपमा छनोट हुन सकेन । युक्रेनी नागरिकलाई मलम हुने एक मात्र अचुक रामबाण विश्वकप खेल्नबाट एक कदम बाँकी रहदा बेल्स बाधक बन्यो ।
२२ औं संस्करणसम्म आईपुगेको विश्वकप एसिया महादेशको लागि पनि केही खास बनेको छ । विश्वकपकै इतिहासमा एसियाबाट अहिलेसम्मकै सबै भन्दा धेरै राष्ट्रले सहभागिता जनाउँदै छन् । एसियाबाट कतार, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया गरि ६ वटा राष्ट्र विश्वकपमा छनोट हुन सफल भएको छ । यस पटक दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिकाबाट समान चार चार र युरोपबाट १४ टिमले आफ्नो स्थान पक्का गरेका छन् । ३२ वटा राष्ट्रलाई प्रत्येक समूहमा चार मुलुक हुने गरि आठ समूहमा विभाजन गरिएको छ । विभाजन गरिएका समूहहरुमा यी देशहरु रहेका छन् ।
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’: फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’: स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’: बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’: ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’: पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
यसै वर्षको नोभेम्बर १८ देखि डिसेम्बरसम्म कतारमा विश्वकप फुटबलको आयोजना हुँदैछ ।
प्रतिक्रिया