समाचार

ओखलढुङगामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जना बिरामी


काठमाडौँ — ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । २ जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र व बर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी लामिछानेको सोही अस्पतालमा मृत्यु भएको थियो । अन्य तिन जनालाई थप उपचारको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया विष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।