Breaking

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ


काठमाडौँ — काठमाडौँको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबीच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो । गार्डलाई आक्रमण गरी भागेकाहरुलाई खोजतलास गरी नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।