काठमाडौँ — बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुन्धान थालिएको हो उनले भने केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो । जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिए । उनले भने, नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ । यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए । यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्र्तगत थप कारबाही हुने जनाइएको छ ।


प्रतिक्रिया