समाचार

दिगो विकासका लागि जीवन विकास पुरस्कारबाट रीड नेपाल सम्मानित


कठमाडौँ – दिगो विकासको चौथो लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षाको उद्देश्य पूरा गर्ने कार्यमा योगदान पुर्‍याएकोमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) ले दिगो विकासका निमित्त जीवन विकास पुरस्कार-२०७७ प्राप्त गरेको छ ।

रीडले नेपालभरीका गैरसरकारी संघसस्थामा उत्कृष्ट छनोट हुँदै पाँच लाख नगदसहित सम्मानपत्र प्राप्त गरेको हो । शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारीले रीड नेपाललाई उक्त सम्मान प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो ।
रीड नेपाल दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान र्पुयाउँदै आएको छ । विशेषगरी नेपालका हिमाली तथा दुर्गम जिल्लाहरूका ग्रामीण भेगका सामुदायिक विद्यालयको विकासका लागि काम गर्दै आइरहेको छ ।

२०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्‍याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै गैरसरकारी संघसंस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई प्रतिस्पर्धामा भाग लिन आवेदन माग गरेको थियो ।

जसअन्तर्गत पहिलो विधाअन्तर्गतको पुरस्कार ५ लाख रीड नेपालले प्राप्त गरेको हो । जीवन विकास समाजले सन् २०१७ मा विश्वभर प्रतिस्पर्धात्मक छनौट भई एजिफन्ड इन्टरनेसनल प्राइजबाट तीन लाख अमेरिकी डलर प्राप्त गरेको थियो । सोही रकममा थप गरी कुल ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको थियो ।