समाचार

गोकर्णेश्वरमा लडेर महिलाको मृत्यु


काठमाडौँ – काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको लडेर मृत्यु भएको छ ।

शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी रामेछाप उमाकुन्ड गाउँपालिका-५ घर भई टहरामा बस्दै आएकी ४९ वर्षीया सुशीला खड्काको मृत्यु भएको हो ।

गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन् । उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो ।

उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए । मृत्यु भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो ।

शव नेपाल मेडिकल कलेजमै राखिएको छ। प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ ।