Breaking

उदण्ड माइलाको तारमाथि मस्ती, विजुलीको २२० केभीप्रसारण लाइनमा ९ घण्टा झुण्डिए


मानिसका केही गतिविधिले आफैलाई मात्र हानी गर्दैन, कतिपय अवस्थामा समग्र संयन्त्रलाई नै तनाव दिने काम गर्छ । यस्तै एक घटना आज नुवाकोटमा भएको छ । विद्युतको पोल हुँदै हाइटेन्सन लाइनमा एक व्यक्ति झुण्डीएपछि जिल्लाका संयन्त्रहरु नै परिचालित हुनुपरेको छ । नुवाकोटको ककनीमा शनिबार दिनभर एकव्यक्तिले विद्युतको २ सय २० केभी हाइटेन्सन लाइनमा गजबैसँगसवार गरे । एउटा तारमा हात र अर्काे तारमा खुट्टा झुण्ड्याएर हाइटेन्सन लाइनमाथि बिहान १० बजेदेखि सुरु भएको उनको सवारी बेलुकासम्मै रोकिएनन् ।

तारमाथि नै मनमौजी यात्रा गरेका उनलाई न प्रहरीले रोक्न सक्यो, न आफैँ खुशी भएर तल झरे । जिल्ला प्रशासनदेखि, जिल्ला प्रहरी र विद्युत प्राधिकरणलाई ती व्यक्तिले दिनभर तनावमात्रै दिए ।र उनलाई फकाउँदै,खुशी बनाउँदै हाइटेन्सन लाइनबाट तल झार्न प्रहरीले निकै पापड बेल्नु प¥यो । तर अहःती व्यक्तिको जिद्दीका अघि कसैको केही जोर चलेन । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ को विद्युत पोलबाट चढेर हाइटेन्सन लाइनमाथि तैरीनी यी व्यक्ति थिए, नुवाकोटकै बेलकोटगढी नगरपालिका–१३ बस्ने ४४ बर्षीय माइला विक ।

उमेरले पाको व्यक्ति भएपनि काचो शैलीमा विद्युतको पोलमाथि झुण्डीएका माइलाका कारण मानिसहरु आश्चर्यचकित बनेका छन् र वाक्कदिक्क पनि । बिहान १० बजेतिर विद्युतको पोलमा चढ्दै गर्दा उनलाई स्थानीयले देखेका थिए । तर कति नै माथि जान्छ र, भनेर खासै चासो दिएनन्, तर माइला झनझन माथि चढ्दै विद्युतको हाइटेन्सन तार नै छुन खोजेपछि भने स्थानिय आत्तिए । तत्काल विद्युत प्राधिकरणलाई फोन गरि जानकारी गराएपछि लाइन काटियो ।

तर तारमाथिको उनी सवारी रोकिएन । पोलभन्दा निकै परपरसम्म गएर तैरिन थाले । विद्युतले लाइन काटेपछि करेन्टबाट हुने क्षतिले उनको ज्यान बच्यो, तर खसेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न प्रहरीले निकै प्रयास गरे पनि उनले टेरपुच्छर लगाएनन् । बरु उल्टै प्रतिकार गर्दै गालिगलौज गर्न थाले । जिल्लाको संयन्त्र नै माइलाको उदण्डमाथि केन्द्रित बन्यो । नेपाली सेना नै उद्धारका लागि खट्नु प¥यो । एक व्यक्तिको गलतशैलीका कारण जिल्लाको सबै संयन्त्र पारिचालित भयो ।

६० मेगावट उत्पादन क्षमताको माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन नै बन्द गरियो ।विद्युत नै रोकिएपछि प्राधिकरणले उत्पादनका लागि जोडिएको पानी खोलामा बगायो । करिब ६० लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति ब्यहोर्नुप¥यो । तर ती व्यक्तिलाई उद्धार गर्ने प्रयास सफल हुन सकेन । उच्च भोल्टेज प्रसारण लाइनमै मान्छे झुण्डीएपछि प्राधिकरणले भारतबाट ल्याएर दिनभरको विद्युत माग धान्यो ।

नुवाकोट लगायतका क्षेत्रमा त प्रशारण ठप्प नै बन्यो ।शनिबार बिहानै माइलाले ककनीस्थित विद्युतको खम्बामा चढेर सोलार फुटाएपछि प्रहरी सम्झाईबुझाई छोडेको थियो । पछि उनै माइला अर्काे पोलमा चढेर दिनभर वितण्डा मच्चाएका हुन् ।

अन्ततः नेपाली सेनाको हेलिकप्टरबाट उद्धार टोली पुगेर माइलाको उद्धारमा खटियो । जसरी माइला पोलमा चढेका थिए, उसैगरि उद्धार टोली पुगेर करिब ९ घण्टापछि तल झार्न सफल भएको छ । तर फेरि पनि यस्तै हर्कत माइलाहरुले गरे के गर्ने ?विद्युत प्राधिकरण भन्छ– रोक्नसक्ने कुनै उपाय छैन ।