Breaking

कुवेतलाई उसैको भूमिमा पराजित गरेर इतिहास रच्ने दाउमा नेपाल, युवा खेलाडीले राम्रो गर्ने समर्थकको अपेक्षा


काठमाडौँ — एएफसी एसियन छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै, बलियो टिम कुवेतलाई हराउँदै इतिहास रच्ने नेपालको दाउ, अन्तिम खेल इन्डोनेसियासँग हुने । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज राति आयोजक राष्ट्र कुवेतसँग प्रतिष्पर्धा गर्दै छ । बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जितको योजनासहित मैदान उत्रिदै छ ।

नेपाली फुटबल दक्षिण एसियाभन्दा माथि उठ्न नसकेको अवस्थामा हाल नेपालले एएफसी एसियन कप अन्तर्गतको तेस्रो चरण छनौट खेल खेलिरहेको छ । नेपालले शनिबार राति प्रतियोगिताको दोस्रो प्रतिष्पर्धीका रुपमा आयोजक टोली कुवेतको सामना गर्दै छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १० बजे सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा रहने छ । त्यस्तै कुवेत पनि घरेलु दर्शकलाई पहिलो खुशी दिने योजनमा छ ।

दुवै देश पहिलो जितको खोजीमा रहँदा सबैको ध्यान नेपाली प्रशिक्षक अब्दुल्ला अल्मुताईरीमा पनि केन्द्रीत रहने छ । किनभने कुवेती नागरिक अल्मुताईरीले आफ्नै देशविरुद्ध घरेलु मैदानमा नेपालको समर्थन गरेको देखिने छ । अल्मुताइरीले यसअघिभ नै भन्दै आएका छन् कि नेपाल र कुवेत खेल्दा आफ्नो समर्थन नेपाललाई नै हुन्छ । ११ अनुभवी र सिनियर खेलाडीलाई बाहिर राख्दै कुवेत पुगेको नेपाली युवा टोलीको पहिलो प्रदर्शनबाट केही राहत महसुस गरेका प्रशिक्षक र समर्थकले आजको खेलमा पनि त्यस्तै लयको अपेक्षा राखेका छन् ।

घरेलु टोलीविरुद्ध मैदानमा उत्रदा नेपाललाई केही चुनौती रहे पनि कुवेतलाई हराउँदै नेपाल इतिहास रच्न चाहन्छ । यसअघिको नतिजा हेर्दा कुवेतविरुद्ध नेपालको प्रदर्शन सम्झन लायक छैन् । फिफा वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ । वरीयतामा २२ स्थान माथि रहेको कुवेतलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन ।

सन् १९८२ देखि हालसम्म कुवेतविरुद्ध आठ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमध्ये सात खेलमा नेपालले पराजित भएको छ भने एक खेलमा बराबरीमा सकिएको छ । जोहान कालिनको नेतृत्वमा सन् २०१९ को मार्च २१ मा भएको मैत्रीपूर्णमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । सबै खेलमा गरि नेपालले ३० गोल खादा १ गोलमात्रै गरेको छ । आजको खेलमा नेपाल पुरानो नतिजालाई तोड्दै इतिहास रच्न चाहन्छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल यसअघिको आफ्नो पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । त्यस्तै कुवेतले इन्डोनेसियासँग १–० को हार व्योहोरेको थियो । छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एशियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एशियन कप खेल्नेछ ।