काठमाडौँ — अहिले गठबन्धनमा आवद्ध पाँच दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले आ–आफ्नै अन्तरद्वन्द्वमा छन् ।त्यसमध्ये पनि एमालेभित्रको द्वन्द्व झनै घातक सावित हुँदैछ । अध्यक्ष ओलीसँग फरक मत राख्दै आएका नेताहरु वाम एकताबारे अभ्यास गर्न थालेका छन् । तर सम्भावना निकै जटिल देखिन्छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले भने, ‘अध्यक्ष ओलीको हामीलाई हेर्ने दृष्टिकोण फरक छ ।’मतलब, पार्टी विभाजनअघि माधवकुमार नेपालको साथमा रहेर ओलीविरुद्ध हाउभाउ चलाएका १० भाई नेताहरुलाई एमाले अध्यक्ष ओलीले भाउ दिइरहेका छैनन् ।
घनश्याम भूसालमाथिको कारबाही सिफारिसलाई ओलीसँग फरक मत राख्ने नेताहरु यसकै पटाक्षेपका रुपमा बुझिरहेका छन् । र उनीहरु अहिले पनि ओली, प्रचण्ड र माधव मिलेर जानुको विकल्प नरहेको बताउँछन् । यसका लागि सबैभन्दा पहिले ओली र प्रचण्ड सुध्रिन आवश्यक रहेको उनीहरुको निष्कर्ष छ । तत्कालिन नेकपाभित्रको अन्तरद्वन्द्व, त्यसले निम्त्याएको संसद् विघटन र गुटगत उत्तारचढावले पार्टी नै ध्वस्त बनाएपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका थिए ।
सिंगो बाम शक्ति एक हुँदाको चहलपहल अहिले काँग्रेसको टेको बनेर उभिएपछि उनीहरुलाई पोल्नु पोलेको छ ।यसकै लागि एमालेभित्रको विद्रोही पक्षले अहिले पनि वाम एकताका पक्षमा पार्टीभित्र आवाज दिइरहेको छ । र, त्यसको आवश्यकता आगामी संसदीय निर्वाचन अघि नै रहेको उनीहरुको बुझाई छ । तर ओली यसै मान्ने पक्षमा छैनन् ।एमालेबाहेकका पार्टी वामपन्थी नरहेको दाबी गर्ने ओलीले प्रचण्ड–माधवसँग मिल्ने कुरा सोच्नै सक्दैनन्, बरु कार्यकर्तालाई पार्टीमा स्वागत गर्न आतुर देखिन्छन् ।
जनधार हुँदाहुँदै पनि स्थानीय तहको निर्वाचनमा दोस्रो बनेपछि एमालेलेसंसदीय निर्वाचनमा वाम एकताको प्रयास गर्ने थुप्रै प्रक्षेपण थियो । यसका लागि प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीकै प्रस्ताव गरिएको विषय पनि बाहिरियो ।तर ओली हार स्वीकार्ने र सच्चिने मूडमा अझै देखिएका छैनन् । कमजोर परिणामको जिम्मा आफुले लिनुपर्ने भएपनि पार्टीभित्रको अन्तरघात भन्दै बरुकारबाहीको डण्डा मार्न थालेपछि मनमुटाव चुलिएको छ ।यसले वाम एकतालाई झनै पर धकेलेको छ ।
काठमाडौँ — विचार नमिल्ने काँग्रेससँगको गठबन्धनबाट प्रचण्ड–माधव पनि सहज महसुस गरिरहेका छैनन् । तर स्थानीय निर्वाचनमा तर माड्न पाएपछि प्रचण्ड जेनतेन संसदीय निर्वाचनसम्मका लागि देउवासँगै सहकार्यको तरिका मिलाइरहेका छन् । यसका लागि गठबन्धनमा आफ्नो भाउ बढाउने प्रचण्डको गृहकार्य छ । तथापी प्रधानमन्त्री बन्नेअफर नै आए ओलीसँग मिल्न प्रचण्ड तयार हुन्छन् भन्ने विश्लेषण एमालेहरु गरिरहेका छन् ।
शक्तिशाली गठबन्धनमा भएर निरीह मतपरिणामले अहिले सबैभन्दा असन्तोषको मुख्य विन्दुमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी देखिन्छ । आफ्नो चाहना अनुसार मन्त्री फेर्न नपाएपछि देउवासँग यो पार्टी झनै रुष्ट छ । यस्ता बेला गठबन्धनको आवश्यकता सबैले देखिरहेका छन्, तर विगतका तीतामिठा भूलेर अहिल्यै सहकार्य गर्न कठिन बनिरहेको छ । यसका लागि खुला छाती बनाएर एमाले अध्यक्ष ओली नै अघि आउनुपर्ने विषयमाथि सबैको ध्यान तानिएको छ ।


प्रतिक्रिया