काठमाडौँ — सर्लाहीमा रहेका अस्पतालहरुमा सिटी स्क्यान र एमआईआर जस्ता अतिआवश्यक स्वास्थ्य उपकरणको अभाव देखिएको छ । जिल्लाका अस्पतालहरुमा उपचार हुन नसकेपछि बिरामीहरू थप आर्थिक समस्या भोग्न बाध्य छन् । सर्लाही जिल्लामा एउटा प्रादेशिक असपतालसहित दर्जनौं निजी क्लिनिक तथा स्वास्थ केन्द्रहरु संचालनमा रहेपनि बिरामीहरुलाई एक्स–रे , सिटी सक्यान र एम.आई.आर जस्ता जाँच गराउन जिल्ला बाहिर बिरगंज, जनकपुर लगायतका सहरहरुमा जानुपर्ने बाध्यता रहँदै आएको छ ।
मधेश प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा कयौं केन्द्रीय स्तरका नेता र मन्त्रीहरु रहेका छन । जुनसुकै पार्टीको सरकार बन्दा यस जिल्लाबाट मन्त्री छानिएकै हुन्छन् । तरपनि बहालवाला मन्त्री तथा केन्द्रीय स्तरका नेताहरु मिलेर आफ्ना जिल्लावासीहरूको लागि एउटा सानो सुविधा समेत उपलब्ध गराउन नसक्दा यहाँका जनताहरु निरास भएका छन् ।
जम्मा ५ हजार रुपैयाँमा गर्न मिल्ने सिटी स्क्यान र एम.आई.आर का लागि बिरामीहरुलाई जिल्ला बाहिरका तथा भारतको विभिन्न ठूला सहरमा जानुपर्दा सर्वसाधारण नागरिकहरुलाई ५ हजारको ठाउँमा ५० हजार वा सो भन्दा बढी आर्थिक भार खेप्नु परेको छ । हुने खाने र धनी ब्यक्तिलाई समस्या नभएपनि गरिब, विपन्न , र निमुखा जनताहरूलाई सिटी स्क्यान र एम.आई.आर गराउनका लागि जिल्ला बाहिर जानु पर्दा ठुलो आर्थिक भार थपिने गरेको छ ।
अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन सर्लाहीका नागरीकले स्थानीय सरकार मात्र नभएर प्रदेश र केन्द्र सरकारसँग पनि हारगुहार गरिरहेका छन् । तर कुनै सरकारबाट पनि आफ्नो माग सम्बोधन नहुँदा गम्भीर विरामी पर्नासाथ भारततर्फ लाग्नुपर्ने अवस्था यहाँका नागरिकको नियती जस्तै बनेको छ ।


प्रतिक्रिया