काठमाडौँ — सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।
कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् । भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि उनीहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर बजारमा जोखिमको भारित औसत दर बढाएको थियो ।
१५ जेठमा सरकारले घोषणा गरेको बजेटले सेयर बजारलाई प्रत्यक्ष लाभ हुने गरी सम्बोधन हुन नसक्दा त्यसयता हरेक दिन बजार घटिरहेको छ । बुधबार केही सम्हालिएको सेयर बजार बिहीबार र शुक्रबार लगातार ओरालो लागेको छ ।
प्रतिक्रिया