देश

नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने


काठमाडौँ — बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी छिन्। मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि रहिआएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो। श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रक्रियाबाटै सुरु भएको बताए।