काठमाडौँ – सत्तापक्षकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसहितका शैक्षिक संस्थामा ताला लगाएपछि विरोध भइरहेका बेला नेविसंघले आफ्नो कदमको बचाउ गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठन समर्थित विद्यार्थीहरुलाई अनेक लाञ्छना लगाइएको गुनासो गरेका छन् । उनले सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्न उद्यत कुनै पदाधिकारीलाई शोभनीय नभएको उल्लेख गरेका छन् ।

‘विश्वविद्यालयका नेविसंघ समर्थित विद्यार्थीलाई अनेक लाञ्छना लगाउँदै नेविसंघको सामाजिक, राजनितिक र शैक्षिक योगदानमा हिलो छ्याप्न उद्धत हुनु कुनै पनि पदाधिकारीलाई शोभनीय कुरा होइन,’ विज्ञप्तिमा भनिएको छ । धम्कीपूर्ण भाषालाई कसरी निस्तेज पार्नु पर्छ भन्ने पाठ नेविसंघलाई कसैले सिकाइरहनु नपर्ने चेतावनी पनि उनले विज्ञप्तिमार्फत दिएका छन् ।
शेर्पाले त्रिविमा लगाइएको ताला पनि खोल्ने घोषणा गरेका छन्। ताला खोल्ने घोषणासँगै लामो समयदेखि त्रिविमा रहेको विकृत विसंगति छानबिनका लागि १५ दिनभित्र उच्चस्तरीय समिति बनाउन पनि शेर्पाले माग गरेका छन् ।


प्रतिक्रिया