Breaking

जाजरकोट जीप दुर्घटना : घाइतेलाई उद्धार गर्न गृहमन्त्रीकाे निर्देशन


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइरहेको कालिकोटमा रहेका हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुगेको जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको, ५ जनाको गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन ।