समाचार

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु


काठमाडौँ – ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका-२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए । सकुन्तलामाथि आक्रमण भएको घटना २०७८ माघको हो ।

त्यसबेला प्रहरीले पक्राउ गरेपछि ठकुरीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका कारण पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिर जमानीमा छाडिएको थियो ।

ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सोही क्रममा हिरासतमा रहेका उनको मृत्यु भएको हो ।

राज्यको नियन्त्रणमा रहेका बेला मृत्यु भएकाले मृतक परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।