Breaking

ओमानसँग नेपाल १३ रनले पराजित


काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनाएको थियो ।

ओमानका लागि जीसान मक्सुदले १२६ बल खेल्दै अविजित १०४ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १९८ रन मात्र बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४ रनको पाली खेले ।

ओमानका जीसान मक्सुद र खावर अलीले समान ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे । यससँगै नेपाल लिगमा १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत छ । नेपालले शनिबार अमेरिकासँग खेल्नेछ ।