काठमाडौँ — मनसुन सुरु भएसँगै काठमाडौँको सडकमा फोहोर मैला पौडी खेलिरहेको छ । फोहोर व्यवस्थापन हुन नसक्दा कुरुप बनेको देशको राजधानी पानी परेपछि त झन् अस्तव्यस्त नै भएको छ ।
राजधानीमा फोहोरको समस्या नौलो होइन । पछिल्लो समय दैनिक जसो फोहोर व्यवस्थापन गर्न सरकारी निकाय सिस्डोल धाइरहेका छन् । तर पनि स्थानीयको अवरोधका कारण फोहोर भने उठ्न सकेको छैन । सिस्डोलमा स्थानीयको अवरोध जारी नै छ ।
सरकार र स्थानीय जनप्रतिनिधिहरुबीच फोहोर उठाउन भएको सम्झौता स्थानीयले नमानेपछि प्रहरी परिचालन गरेको भन्दै स्थानीयहरु थप आक्रोशित छन् । जसका कारणले गर्दा अब फोहोर कहिले उठ्छ भन्ने अस्थिरता छाएको छ । यसबाट के बुझ्न सकिन्छ भने काठमाडौँको फोहोर व्यवस्थापनमा चुनौती त छ नै, यो एउटा राष्ट्रिय समस्याको रुपमा पनि सिर्जना भएको छ ।
फोहोर नउठ्दा दुई हप्तादेखि कतिपय काठमाडौँबासीले आफ्नै घरभित्र फोहोर डंगुर बनाएर राखेका छन् । त्यो समस्यालाई काठमाडौँबासीले भोगिरहेका छन् नै । तर कतिले फोहोर सार्वजनिक स्थानमा फालिदिदा हिडडुल गर्ने बटुवाहरुका लागि पनि काठमाडौँ अब कष्टकर बन्दै गएको छ । त्यसमाथि केही दिनदेखि नेपालमा मनसुन भित्रिएर दैनिक रुपमा पानी पर्न थालेपछि त झन् सडकको हालत शब्दमा उतार्न गाह्रो छ ।
फोहोर व्यवस्थापन नहुँदा त्यसै समस्या थियो । वर्षाका कारण त्यो समस्या झन् दोब्बर भएको छ । त्यसो त सानो पानी पर्दैमा सडक देख्न मुश्किल हुने काठमाडौँमा अहिले फोहोरले गर्दा सडक नै खोलामा परिणत बनेको छ । जसले व्यापारीदेखि बटुवासम्म सास्ती खेप्न बाध्य छन् । काठमाडौँको अस्तव्यस्त व्यवस्थापनलाई लिएर सदनमा दिनहुँ कुरो उठ्ने गरेको छ । प्रतिपक्षमा रहेको पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै गठबन्धनका शीर्षस्थ नेताहरुलाई फोहोर उठाएर देखाउन चुनौतीसमेत दिएका छन् ।
राजनीतिक दलका नेताहरुले सदनमा ठूला ठूला भाषण गरे पनि जनताको समस्या भने ज्यूँकात्यूँ छ । नागरिकले आफ्नो घरमा फोहोर राख्ने ठाउँ नभएपछि विगत १५ दिनदेखि सडकमा नै फाल्न थालेका छन् । त्यही फोहोर पानीले बगाउछ र पुन कसैको घरमा पुग्छ । राजधानीमा अहिले फोहोर चक्र यसरी नै घुमिरहेको छ ।


प्रतिक्रिया