काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ थियो ।
उनले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा पनि गरे । अध्यक्ष थापाले असम्भव एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेन्डा ओझेलमा पर्ने भएकाले आफूले भारी मनले राजतन्त्रको एजेन्डालाई परित्याग गरेको पनि बताए । पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उनले जानकारी दिए । ‘स्वयम् राजालाई पनि राजसंस्था पुनर्स्थापना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठुलो आशंका छ’, उनको भनाइ छ । नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने थापाले बताएका छन् ।


प्रतिक्रिया