Breaking

त्रिविको परीक्षामा अर्को प्रश्नपत्र पनि दोहोरियो, छानबिन गरिँदै


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटकपटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ ।

त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिवि मानविकी सङ्कायका डीन प्रा.डा. कुसुम शाक्यका अनुसार हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिएको छ । हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिएको र अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनेसमेत शाक्यको भनाइ छ ।

त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ । जिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा. पेशल दाहालले मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्ने बताए ।

“बुधबार नै मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु। छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने ।

उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ ।