Breaking

हत्या आरोपमा वडाध्यक्षसहित ३ जना जेल चलान


काठमाडौँ – रुकुमपूर्वको पुथाउत्तरंगा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमार सिंह हत्या आरोपमा जेल चलान भएका छन् ।

वडाध्यक्ष सिंहसँगै निवर्तमान वडाध्यक्ष जयकुमार बुढा र सोही ठाउँका अर्जुनकुमार बुढा पनि जेल चलान भएका हुन् । वडाध्यक्ष बुढा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । जिल्ला अदालत रुकुमपूर्वले पुर्पक्षका लागि उनीहरुलाई जेल चलान गरेको हो ।

स्थानीय तह निर्वाचनअघि सोही ठाउँकी ३९ वर्षीया जनमाया बुढाको शव फेला परेको थियो । बुढाको हत्या आरोपमा उनीहरुविरुद्ध किटानी जाहेरी परेपछि त्यतिबेलै उनीहरु पक्राउ परेका थिए ।

गएको वैशाख १९ गते रातिदेखि हराएकी बुढाको शव गाउँ नजिकैको जंगलमा वैशाख २६ गते भेटिएको थियो । शव भेटिएकै दिन उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । वैशाख १९ गते राति पुथाउत्तरगंगा ११ मा एमाले-नेपाली कांग्रेसको गठबन्धनका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको थियो । झडपपछि बुढा बेपत्ता थिइन् ।

निर्वाचनअघि नै पक्राउ परेपनि निर्वाचनमा बुढा विजयी भएका थिए । सिंह एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई पराजित गर्दै विजयी भएका हुन् ।