Breaking

रहरले इम्बोस्ड नम्बर प्लेट जोड्न भनेका होइनौं: विभाग


काठमाडौँ — इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा विवाद बढेपछि मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले यो कार्यक्रम विश्व प्रविधिमा अन्य मुलुक जस्तै फड्को मार्न सरकारले यो कार्यक्रम लागू गरेको बताए । ‘हामीलाई कुनै रहर लागेर अथवा सनक चढेर यो नीति कार्यान्वयनमा आएको होइन । नेपालको सार्वभौम संसदले ऐन बनाएर इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था गरेको छ । ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न हामीले जमर्को गरेका हौं,’ कार्यक्रममा बोल्दै घिमिरेले भने ।

तोकिएको समयसीमा भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाहीमा परिने हुँदा विभागले समयसीमा भित्र काम सक्ने योजना सारेको उनको भनाइ छ । हामीलाई दिएको समयसीमा अनुसार अबको १५ महिनामा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने परियोजनाको सम्झौता पत्रमा उल्लेख छ उनी भन्छन्, सम्झौता कार्यान्वयन नगरेको अवस्थामा भोलि सरकारलाई उत्पन्न हुनसक्ने आर्थिक तथा अन्य दायित्वका सम्बन्धमा जवाफ दिनुपर्ने हुँदा सरकारले हामीलाई दिएको जिम्मेवारी पूरा गर्ने हाम्रो प्रयास हो । विभागले गत शुक्रबार एक सूचना जारी गर्दै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।

उल्लेखित कार्यालयहरूमा दर्ता भएका सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरी कारबाही गरिने सूचनामा भनिएको थियो । यो सूचनाको सामाजिक सञ्जालदेखि संसदसम्म विरोध भएको छ । पूर्वाधार नपुगेको, शुल्क निकै महँगो भएकोलगायत विषयमा विरोध भइरहेको छ । महानिर्देशक घिमिरेले गण्डकी र बागमती प्रदेशमा गुड्ने सबै सवारीमा साउन १ अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताए । जसले गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन् ।

उनीहरूले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने महानिर्देशकले बताए । त्यस्तै, गत फागुन १ गतेभन्दा पछाडि पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उनले बताए । जेठ १ गते पछाडि नवीकरणका लागि जानेहरूले पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उनले बताए ।