Breaking

बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु


काठमाडौँ – मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ । गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारका कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।