समाचार

अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जीनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेण्ट), कृष्ण बुढाथोकी र सदस्यसचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ । भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नगर बनाउन आ–आफ्नो ठाउँबाट सङ्कल्प गर्ने निर्णय गरेको नगरपालिकाले अघिल्लो कार्यकालमा सञ्चालित योजना तथा कार्यक्रममा भएका अनियमिततामाथि छानविन गरेर दोषी ठहरिए कानुनी कारबाही गर्ने निर्णय गरेको हो ।

१५ वडा रहेको यस नगरपालिकामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का दीपनारायण रिजाल नगरप्रमुख र विणादेवी राई उपप्रमुख निर्वाचित भएका थिए । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उमेदवार नेपाली कांग्रेसका तीर्थराई भट्टराई नगरप्रमुख र नेकपा (माओवादी केन्द्र) का विशन राई उपप्रमुखमा विजयी भएका छन् ।