काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठको फेसबुक वालभरि हिजोदेखि बधाईको ओइरो छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन लागेको समाचार छापिएसँगै उनलाई बधाई आउन थालेको हो। आइतबार सकिएको एकीकृत समाजवादीको बैठकले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफूसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ मन्त्री बन्न लागेको जानकारी दिएका थिए। नयाँ मन्त्रीहरूको नाम अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उनले बताएका थिए।
आइतबार अबेर भइसकेको र सार्वजनिक बिदा पनि भएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आकलन गरिएको थियो। सोमबार बिहान कार्यालय समय सुरू भइसक्दा पनि राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीको सपथको कुनै सुरसार नै थिएन। राष्ट्रपति कार्यालयका अधिकारीले प्रधानमन्त्री देउवाले मन्त्री नियुक्तिका लागि कुनै सिफारिस नपठाएको बताएका थिए।


प्रतिक्रिया