Breaking

महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालियो


काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले जानकारी दिए ।

भट्टराईले भने, बालाजुचोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९र१० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २र३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ । भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्ष सहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले बताए । ‘वडा नम्बर १६ को फोहोर आफ्नै वडाक्षेत्रमा व्यवस्थापन गर्ने गरी वडाध्यक्षले आवश्यक छलफल गरिरहनु भएको छ । मुख्य चोकमा रहेका फोहोर गाडीमा उठाउने काम भइरहेको छ’ भट्टराईले भने ।