समाचार

सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल भित्रिए


काठमाडौँ — दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् १ झट्ट सुन्दा सूचना अनौठो थियो । सो सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेकी गर्न पठाए ।

जेठ २१ मा नेपाल एयरलाइन्सको उडान आरए–२३० बाट गुल्मी घर भएका सुरेश बहादुर शाही र कपिलवस्तु वाणगंगा घर भएका सन्दिप चन्द ठकुरी विमानस्थलमा ओर्लिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गरे ।

सर्ट–पाइन्टको भित्री भागमा सर्च गरे । उनीहरुले लगाएको कपडाको तौल सामान्य भन्दा गहकिलो थियो । त्यसपछि कपडा उधारे । कपडा उधारेर हेर्दा भित्र सुनको पेस्ट बनाएर लेपन गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । उनले भने– सुन लिएर आउने दुईजनाको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेका छौं ।