काठमाडौँ — सेयर बजार निरन्तर घट्दै २ हजारको विन्दुमा आइपुगेको छ । शुक्रबार बजारले २१ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । नेप्से एकतर्फीरुपमा अनि निरन्तर हिसाबले तल झरिरहेको छ । यसबीचमा लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइसकेका छन् । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लोमो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ ।
बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन्दुमा झरेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४, १२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ । लगानी कर्ताहरुले आन्दोलनदेखि ४÷१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन् ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा ४÷१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ भएको देखिएको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजार मैत्री नदेखिएसँगै बजार भारी अंकले घट्दै गएको छ । त्यस्तै, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सिमित भएको छ ।
प्रतिक्रिया