काठमाडौँ — भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । आज बिहान ४ः२० बजे तिर बस पुलबाट खसेको थियो । आज आइतबार बिहानै नेपाली समाचार माध्यममा एकाएक दुखद् खवर सम्प्रेसण भयो । तारा विमानदुर्घटनाको राप सेलाउन नपाउँदै फेरि पनि बस दुर्घटनाले एक पटक सबैको होस् उडायो । आज परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट बस खोलामा खस्दा ९ जनाले ज्यान गुमाए । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ३८४१ नम्बरको बसमा ३३ जना सवार मध्ये २४ जना यात्रु घाइते हुँदा ९ जनाको मानवीय क्षती भयो ।
मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेका छन् । ओमसतिया गाउँपालिका ४ बस्ने ६५ वर्षीय को राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका ८ बस्ने बर्ष ३७ की तुल्सी बस्याल, सोही नगरपालिका २ योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल उ.म.न.पा.११ कालिकानगर बस्ने वर्ष ४८ को कृष्ण प्रसाद बस्याल, रौतहट चन्द्रनिगाहपुर घर भएका वर्ष २० को दिनेश दास र भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द्र शर्मा गरी ६ जनाको सनाखत भएको छ भने ३ जनाको परिचय खुल्न बाँकी छ । बस दुर्घटनाको यकिन कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । चालक निदाएका कारण दुर्घटना हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
गाडी दुर्घटना हुने क्रममा दुई जनाले भने बसको झ्याल फोडेर आफूसहित एक बालकको ज्यान बचाउन सफल भए । बाराका १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर ३ का मुफिद मन्सुरीले झ्यालको सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकालेका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरीले बताएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । बस गन्तव्यमा पुग्नुभन्दा १० मिनेट अघि रोहिणी नदी माथिको पुलको बार भाँचेर नदीमा खसेको थियो । बसमा २५ पुरुष, ६ महिला र दुई बालबालिका सवार थिए ।


प्रतिक्रिया