Breaking

सरकारबाट हामी हटेपछि वातावरणका विषयमा चिन्ता कस्ले गर्छ : ओली


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु सरकारबाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन भनी सरकारलाई प्रश्न समेत गरे । विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले सरकार पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा पुगेको बताए ।

हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के त्यो सबै टुंगियो कुरा उनले भने । आफू प्रधानमन्त्री हुँदा वातावरण र जलवायु परिवर्तनको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि ओलीले स्मरण गरे । तर सन् २०२० मा कोभिड–१९ को महामारीका कारण सगरमाथा संवाद अघि बढ्न नसकेको उनको भनाइ छ । अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्वका नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे ।