Breaking

एमाले सचिवालयमा पुग्यो घनश्याम भुसाललाई कारबाही गर्ने पत्र


काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसालमाथि अनुशासनको कारबाही गर्ने जिम्मा केपी शर्मा ओलीले अनुशासन आयोगलाई दिएका थिए । तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले यसको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

सार्वजनिक रुपमा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो ।

बैठकले सोझै कारवाही गर्ने तयारी गरेको थाहा पाएपछि एमालेकै केही नेताहरुले त्यसरी कारवाही गर्दा ‘डिजास्टर’ हुने चेतावनी एमाले नेतृत्वलाई दिएका थिए । साथै विधानतः अनुशासन आयोगले कुनै नेतामाथि कारवाही गर्नेबारे सिफारिस मात्र गर्न मिल्ने केही नेताहरुको तर्क सुनेपछि अनुशासन आयोग एक कदम पछि हटेको छ ।

भुसालले एउटा निजी टेलिभिजनलाई लिएको अन्तरवार्ताको प्रश्नउत्तर सबै उतारेर सचिवालयलमा पठाउन लागिएको अनुशासन आयोगका रहेका एक नेताले बताए । त्यही अन्तरवार्ताका आधारमा उनीमाथि कारवाही गर्न सचिवालयलाई सिफारिस गर्ने निर्णय भएको उनले बताए ।