Breaking

वातावरण अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीको आग्रह


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिएकी छन् ।

विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राषट्रपति भण्डारीले शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवद्र्धनमा विशेष जोड दिन आवश्यक रहेको बताएकी हुन् ।

प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख छ ।

पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा प्रमुख चुनौतीको रूपमा रहेकोसमेत राष्ट्रपतिको भनाइ छ ।

उनले वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न सङ्घीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवं सम्बद्ध सबैलाई धन्यवाद दिँदै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गरेकी छन् ।