Breaking

छुवाछूत अन्त्यका लागि क्रियाशील रहन ३ नै तहका सरकारलाई राष्ट्रपतिको आग्रह


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले छुवाछूत अन्त्यका लागि सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई पनि आग्रह गरेकी छिन् ।

पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछूत अझै अन्त्य हुन नसकेको राष्ट्रपति भण्डारीको भनाई छ ।

‘जातीय विभेद तथा छुवाछूत प्रथा मानव सभ्यताको कलङ्क हो’, सन्देशमा भनिएको छ, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण छ ।’

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।

२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’मनाइन्छ ।