Breaking

प्रचण्ड–माधवको खुलासा – प्रधानमन्त्रीको अफर आयो, सरकार र समीकरण फेरबदलको संकेत


काठमाडौँ — अहिले पनि नेपाली राजनीतिको केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै छन् । सत्तापक्षले दिनुहुँ बोल्ने बोलीमा ओली छन् । संसदका हरेक सम्बोधन ओलीमाथि केन्द्रीत भइरहेका छन् । तर केहीदिन यता मौनतामा रहेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्ड चलाएको भन्दै नेताहरुले खुलासा गर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली विरलै मात्र संसद प्रवेश गर्छन । एकैपटक तीन घण्टा बोलेर निस्किछन् । अनि त्यही विषयमा सत्तापक्षका सांसदहरुले दिनहुँ लम्बेतानका भाषणहरु गर्छन । कुण्ठा पोख्छन्, आक्रोशित हुन्छन् ।ओली बोलीमा छन् । तर यतिबेलाको निर्णायक शक्तिका रुपमा नेकपा माओवादी केन्द्र छ । यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको खण्डमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको सम्भावना जब्बर बनेर आएको छ ।

ठिक यसैबेला प्रचण्डकै पछिपछि परछाँया बनेर कदम चालिरहेका माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीकै प्रस्ताव आएको दाबी गरेका छन् ।नेकपा एकीकृत समाजवादीको अध्यक्ष समेत रहेको नेपालले बिहिबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै नेपालले पहिले प्रचण्डलाई पछि आफुलाई कार्ड फालिएको सार्वजनिक गरेका हुन् ।

तर उनीहरुलाई कसले, कहाँ, कतिबेला, कसरी प्रस्ताव ग¥यो भन्ने विषय सार्वजनिक गरेका छैनन् । यद्यपी उनीहरुले ओलीसँग जोडिएर दिएका अभिव्यक्तिमै यो सब बताएका हुन् । यसको अर्थ भरथेकको जनमत भएर पनि गठबन्धनका अघि स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेकपा एमाले नै अहिलेको प्रस्तावक हो । किनकि एमाले अध्यक्ष ओली एक कदम पछि हट्न तयार भए, प्रचण्ड र माधव नेपाल जस्ता नेताहरु एक कदम अघि बढ्न तयार छन् ।

गठबन्धनसँग लगातार चुनाव हारिरहेको एमालेले अहिलेकै राजनीतिक समीकरण रहिरहे आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि अनुकुल नतिजा ल्याउने सम्भावना देखिन्न । यसैकारण एमालेका लागि माओवादीसहितका दलको समर्थन अपिहार्य छ । यस्तो अबस्थामा राजनीतिक कोष परिवर्तनको सम्भावना रहेको तर प्रचण्ड–माधवलाई प्रधानमन्त्रीकै प्रस्ताव गरेको विषयमा भने एमाले नेता सहमत छैनन् ।

संसदीय निर्वाचन आउन ६ महिनामात्रै बाँकी रहेका बेला देउवासँग बाग्रेनिङ गर्नमात्रै प्रचण्ड–माधवले यो कुरा उचालिरहेका छन् कि वास्तम्वमै ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । यो प्रश्नको जवाफ नेपथ्यमा छ । तर मुल प्रश्न सरकार फेरबदलमाथि केन्द्रीत छ । कथमकदाचित एमाले अध्यक्ष ओली एक कदम पछि हट्न तयार भए र प्रचण्ड–माधवले समेत विगतका तिक्ततालाई सुधार्न सके कोर्ष परिवर्तनकै सम्भावना छ ।

अहिलेको सरकारलाई एमालेहरु परामदेशी भन्दै आएका छन् । किनकि ओलीले दुईदुई पटक गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै अदालतले संसदबाट सरकार बन्ने सम्भावना रहेसम्म विघटन नगुर्नू भन्ने आदेश जारी गरेको छ । सरकार फेरबदलकै अवस्था आए सम्भावना रहन्छ त ?

अनेक सम्भावनाका बाबजुद गठबन्धनमा आवद्ध पाँच दलले संसदीय निर्वाचनको विषयलाई घनिभूत छलफलमा लगेका छन् । अनेक अविश्वास र संकटका बाबजुद असारभित्रै सिट बाँडफाँड र कात्तिकमै निर्वाचन लगायतका सम्भावनामाथि छलफल भइरहेको छ । तथापी अनेक सम्भावनामा कसरत चलिरहेकाले कुनै पनि बेला कुनै पनि घटना परिघटित हुन सक्ने सम्भावना बलियो छ ।