काठमाडौँ — नेपाली आकाशमा बेला बेला हुने दुर्घटनाले अहिले पनि धेरैलाई झस्काईरहन्छ । गत जेठ १५ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाले फेरि एकपटक विगतको घाउ कोट्याएको छ । नेपालको हवाइ यात्रा असूरक्षीत भनिरहदा मुख्य कारण मौसमलाई नै देखिाइदै आइएको छ ।
गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टम गरेर बिहीवार परिवारलाई जिम्मा लगाइएको छ । घटना अझै सेलाएको छैन ।
हरेक नेपालीहरु शोकमग्न र त्रसित छन् । अहिले नेपालमा रहेको प्रिमनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको छ । लगभग अबको दुई महिना नेपालमा प्रिमनसुन रहनाले हवाई यात्रामा कठिन हुने निश्चित छ । त्यसो त नेपालको मौसम अन्य सिजनमा पनि फरक फरक हुनसक्छ । नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना आलो र प्रतिकात्मक दुर्घटना हो ।
यसअघि पनि धेरै विमानहरु प्रतिकुल मौसमका कारण दुर्घटना भएका छन् । यद्यपी जोमसोमका लागि उडेको तारा एयरको विमान प्रतिकुल मौसमका कारण नै भएको हो भन्ने अनुमान मात्रै छ, यो अनुसन्धान पछि आएको आधिकारिक जानकारी भने होइन । सरकारले घटनाको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाएको छ ।
अबको केही दिनमा नै छानबिनि समितिले यसबारेमा जानकारी गराउने नै छ । जोमसोम उडान भरेको तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन् । कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन् । तर वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने बताउँछन । पुरानो विमानका कारण दुर्घटना नहुने र विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने उनको धारणा छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व अध्यक्ष राजकुमार क्षेत्री भने नेपालको मौसमको भर नहुने भएकोले बेलाबेला दुर्घटना हुने धारणा राख्छन । पोखराबाट जोमसोम उडान गरेको तारा एयर पनि मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने उनको भनाई छ । अब सरकारले र विमनस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको उनको धारणा छ ।
नेपालमा आज सम्म भएका धेरै दुर्घटनालाई मौसम प्रतिकुतला भनेरै टार्ने गरिएको छ । उडानको समय जहाजमा देखिएको गडवढी र विमान चालकले सावधानी नअपनाउदा दुर्घटनामा परेको भनेर प्रतिवेदन सार्वजनिक गर्ने गरिएको छ । तर दुर्घटना पछि आउने प्रतिवेदनलाई कार्यान्वयनमा ध्यान दिइने गरेको छ न जहाजको स्तरीयतामा नै कसैको चासो छ । दुर्घटनाको दुई चार दिन हल्ला खल्ला हुने त्यसपछि प्रतिवेदनसंगै सामसुम हुने प्रवृत्ति रहेको छ ।


प्रतिक्रिया