Breaking

औसत आयु नै थोरै भएकाले वृद्ध भत्ता दिने उमेर घटाइएको हो: अर्थमन्त्री


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनुभएको छ । बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विपन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपालीको औसत आयु ६९ दशमलव ७ वर्ष रहेछ ।

ती वर्गलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’ यो भन्दाअघि ७० वर्षमा वृद्ध भत्ता दिइँदै आएकोमा आउँदो आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्‍याइएको छ ।