काठमाडौँ — कार्यपालिका निर्वाचनको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकाकी नवनिर्वाचित एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्षमाथि चप्पल प्रहार गरेकी छन् । बलान बिहुल गाउँपालिका वडा नम्बर २ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् । वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
बिहीबार बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको समय तोकिएको थियो । कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो । कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कसी चप्पलले आक्रमण गरेपछि स्थिती तनावग्रस्त बनेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए । वडा सदस्यले वडाध्यक्षमाथि चप्पल प्रहार गरेपछि स्थिति तनावग्रस्त र उत्तेजक भएको थियो’ गाउँपालिका अध्यक्ष यादवले भने,‘चप्पल प्रहार गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ताले आक्रमण गर्दै दुर्व्यवहार गरेको बताए । इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक बालेष्टर सिंहले कार्यपालिका निर्वाचनको क्रममा विवाद भई वडाध्यक्षमाथि चप्पल प्रहार हुँदा आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै नियन्त्रणमा लिएको बताए । शुक्रबार दिउँसो पालिकाका जनप्रतिनिधिहरुबीच इलाका प्रहरी कार्यालय कडोरवनामा छलफल भइरहेको र जाहेरी आएपछि थप प्रक्रिया अघि बढाइने बताए । बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले अमर्यादित र असोभनीय कार्य गर्ने वडा सदस्य गुप्तालाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया