Breaking

पार्टीबाट विद्रोह गरेर गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन ‘विप्लव’को आव्हान


काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन् ।

गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे । उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सबै कुराहरुलाई केन्द्रीत गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने । ठीक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस् । मान्छेबाट गल्ती हुन्छ ।

तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढे । उहाँ बडो क्रान्ति गर्न गएको ।’

उनले थप भने, ‘के छ चितवनको डकुमेन्टमा एउटा केही पनि फरक छैन । कार्यक्रम – समाजवादी । हामीले पास गरेकै छौँ । रणनीति – समाजवाद प्राप्त गर्ने । हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । कार्यदिशा – एकिकृत जनयुद्ध ।

व्याख्या हेर्नुभयो भने एकिकृत जनक्रान्तिको सुस्पष्ट व्याख्या जो छ हाम्रो यो पनि त्यो पनि जस्तो मान्छे हुनुहुन्छ, त्यस्तै थुपार्नु हुन्छ । नेताहरुको स्वभाव अनुसार त्यो देखिएको छ । कार्यनीति हे¥यो – स्वाधिन संयुक्त सरकार । हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह, वैज्ञानिक समाजवाद ।’

उनले फेरि भने, ‘खोई कहाँ जाने हो तपाईहरु त्यसैले आवेगबाट । एकछिन उत्तेजनाबाट, कुण्ठाबाट । त्यसरी हुँदैन आन्दोलन । नेपालमा त सयवटा भन्दा बढी पार्टीहरु छन् एउटा थप्ने कुरा ठुलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने । होल नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जानेकुरा हामी सबैले त्यहाँ ध्यान दिनुपर्छ ।