Breaking

फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाबाट गर्नुपर्छ : मन्त्री झाँक्री


काठमाडौँ — शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुग्नुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, फोहोर मैला ठूलो समस्या छ । हामी पहिला टेक्नोलोजी फाइनल गर्छौं । त्यसपछि इन्भेष्टमेण्ट मोडल, कति भोलुमको इन्भेष्टमेण्ट चाहियो ? पोष्ट क्लोजरको इस्यू ठूलो कुरा हो । अहिले हामी पोष्ट क्लोजरको इस्यूमा काम गर्छौं । बञ्चरे डाँडा वा सिस्डोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेण्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म । भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो ।

सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसक्नुभएको छ । सिसडालवासीका समस्या बुझ्न उपमेयरसहितको टिम लिएर मेयर साह आज सिसडोल पुग्नुभएको छ ।