Breaking

‘हेलिकप्टरमा दुईजना पाइलट राख्न असम्भव’


काठमाडौँ – नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा रहेका एक इन्जिन भएका हेलिकोप्टरमा दुई पाइलट उपयुक्त नहुने धारणा अगाडि सारेको हो ।

हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउछन् ।

नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनले बताए ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएका छन् ।