Breaking

बालेन राजनीतिक नेतृत्वसँगको भेटमा व्यस्त, शीर्ष नेतृत्वबाट प्रतिबद्धता सुनिश्चित गर्ने चाहना


काठमाडौँ — काठमाडौं महानगरका मेयर बालेन साह महानगरलाई सहज ढंगबाट सञ्चालन गर्न दलका शीर्ष नेताहरुसँगको भेटघाटमा व्यस्त छन् । पहिलो बैठकमा नै मेयर र वडाध्यक्षबीच असन्तुष्टि देखिए पछि दुरी बढेको हो कि भन्ने आम मानिसको धारणा रहेकै बेला उनी भेटघाटमा व्यस्त देखिएका हुन् । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् । उनी प्रतिपक्षी दलका अध्यक्ष देखि नेपाली सेनाका प्रधानसेनापति हुँदै प्रधानमन्त्रीसम्मलाई भेटिरहेका छन् । उनको यो भेटलाई राजनीतिसँग पनि जोडर हेर्ने गरिएको छ ।

दलीय हैसियत नभएका बालेनले स्वतन्त्रबाट जितेपछि महानगरपालिकालाई स्वस्थ रुपमा सञ्चालन गर्न दलका शीर्ष नेताबाट प्रतिबद्धता सुनिश्चित गर्न चाहेको कतिपयको बुझाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गरेको प्रतिबद्धतालाई बालेनको सफलताको रुपमा अथ्र्याउने गरिएको छ । यसैबीच पुराना गाडीलाई एम्बुलेन्समा परिणत गर्ने जस्ता लोकप्रिय निणर्यले बालेनलाई थप स्थापित गर्ने नागरिकको बुझाइ छ । केही सदस्यको फरक मतका साथ पहिलो कार्यपालिका बैठक नै लाईभ गरेका मेयर बालेन दलका वडाध्यक्षहरुको पेलानमा परेको भनिएको छ ।

जसले मेयर र वडाध्यक्षबीच दुरी बढेको हो कि भन्ने आम मानिसको आँकलन छ । त्यतिमात्र होइन कि मेयरलाई वडाध्यक्षहरुले असहयोग गरेको समेत आरोप लाग्न थालिसकेको छ । तर वडाध्यक्षहरु भने आफूहरु मेयरसँगै सहकार्य गरेर समस्याको समाधन खोजेको बताउँछन् ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारले आफ्नै पार्टीको एजेण्डाले चुनाव जितेको पनि भन्न भ्याएका छन् । दलीय व्यवस्थामा स्वतन्त्रबाट निर्वाचित बालेनले एक्लैले केही गर्न नसक्ने बताएका उनले राजनीतिक दलको फेरो नै नसमाए पनि दलको साथ नलिकन अघि बड्न नसक्ने दावी गरे ।

काठमाडौँ महानगरपालिकाले नयाँ नेतृत्व पाइसकेको छ । महानगरपालिकामा असार १० गतेसम्म बजेट ल्याइसक्नु पर्ने कानुनी बाध्यता छ । जसका लागि ८ सदस्यीय महानगर कार्यसमिति सदस्यको आवश्यक रहन्छ । जेठ २३ गते कार्यसमिति सदस्यको टुंगो लागेसँगै त्यसले पनि पूर्णता पाउने छ । कुनै संस्था वा व्यक्ति सफल हुन्छ भनेर बेवास्ता गर्नुभन्दा दलीय स्वार्थ त्यागेर महानगरको विकासलाई नै सर्वोपरी राखी मिलेर काम गर्न सके नै जनप्रतिनिधि र जनताको लागि श्रेष्ठकर हुने थियो ।