काठमाडौँ — रूपन्देहीको सैनामैना झिमझिमियामा घाइते अवस्थामा फेला परेको चितुवाको बिहीबार मृत्यु भएको छ । केही दिनयता सैनामैनाको सालझण्डी, रामापुर लगायतका क्षेत्रमा डुलिरहेको चितुवा बिहीबार सख्त घाइते अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय सैनामैनाका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार उक्त चितुवा बिहीबार बिहान सैनामैना(१० झिमझिमियामा फेला परेको थियो ।
मौवाको रूखमुनि पल्टिएको अवस्थामा चितुवा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा चितुवाको घाँटीमा फलामको तार बेरिएको र तारले काटिएर घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।
प्रहरी टोली पुगेपछि उक्त चितुवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवामा पठाइएको कञ्चन सव डिभिजन वन कार्यालयका प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए । यसअघि बिहान घाइते अवस्थामा फेला परेको चितुवालाई नजिकै गएर हेर्न खोज्दा स्थानीय सैनामैना(१० बेतहनीका ५५ वर्षीय रामकृष्ण थारूलाई आक्रमण गरी घाइते बनाएको थियो ।


प्रतिक्रिया