काठमाडौँ — मुलुककै जेठो वीर अस्पतालमा आज बिहानैदेखि टिकट काउन्ट अगाडि सधैंभन्दा बढी भीडभाड देखियो । हातमा कागजपत्र बोकेका थुप्रै बिरामी र बिरामीका आफन्त छट्पटइिरहेका देखिन्थे । फलोअपमा आएका र शल्यक्रियाका लागि आएका बिरामीलाई दर्ता काउन्टरबाट छाप लगाउँदै भित्र पठाइन्थ्यो तर ल्याब परीक्षण तथा अन्य सेवाका बिरामीको पालो लामो समय कुर्दा पनि आएन । ५ घण्टासम्म पनि टिकट काट्न पालो नआएपछि कोही फर्किन थाले भने टाढा–टाढाबाट आएका बिरामीको भीड अझै पनि अस्पतालमा कम भएको छैन ।
वीर अस्पतालको सर्भरमा बेला–बेला समस्या आइरहनु नौलो कुरो होइन । अस्पताल प्रशासनतर्फका एक कर्मचारीले भने बुधबार साँझदेखि नै अस्पतालको सफ्टवेयरमा समस्या भइरहेको थियो । सफ्टवेयरमा समस्या आएपछि अस्पतालको इन्टरनल नेटवर्कले काम गरेन, यसको असर काउन्टरदेखि माथिसम्मै पर्यो । इन्ट्री रेकर्ड राख्नुपर्ने सफ्टवेयरमा नै समस्या देखिएपछि बिरामी लिन सकिएन ।
इमर्जेन्सी, अपरेसन र पहिले रेकर्डमा आइसकेका बिरामी लिइयो तर नयाँ बिरामी लिन समस्या भयो । ती कर्मचारीले भने । सर्भर व्यवस्थापनको ठेक्का लिएको कम्पनीसँग बुधबार रातिदेखि पटक–पटक सम्पर्क भए पनि बिहीबार अफिस आवर सुरु भएपछि मात्रै प्राविधिक आएको ती कर्मचारीले बताए । अस्पतालको पुराना संरचना भएका भवनहरूमा यस्तो समस्या बारम्बार आउने गरेको पनि ती कर्मचारीले बताए ।
प्रतिक्रिया