Breaking

एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित


काठमाडौँ – नेकपा एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको बिहीबार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान कार्यविधि विपरीत दिएको र अनावश्यक रूपमा तीन कर्मचारीको सरुवा गरेको भन्दै विरोध जनाए । उनले यस विषयमा संसदीय समिति गठन गरेर छानविन गर्न माग गरे ।

निरौलाले संसदीय समिति गठन गरेर छानविन अगाडि नबढाएसम्म संसदीय कार्यक्रम अगाडि नबढाउन माग गरे पनि सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन खोजे । तर, एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेर विरोध गरेपछि बैठक स्थगित भयो ।

संसद्को अवरोध खुलाउन अहिले सर्वदलीय बैठक बसिरहेको जनाइएको छ ।