Breaking

आज ४ वटा प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ — आज (बिहीबार) देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ ।

स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले पूर्वी तराईका केही स्थानमा वर्षा भइरहेको छ । ‘दिउँसोपख प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् भट्टराईले भने, ‘बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।’

उनले यस वर्ष नेपालमा मनसुन केही छिटो सुरु हुने संकेत देखिएको बताए । सामान्यतया नेपालमा जुन १० (२७ जेठ) देखि सेप्टेम्बर २३ (७ असोज) सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । तर यस वर्ष मनसुन २७ जेठ अघि नै सुरु हुने संकेत देखिएको उनले बताए । भारतको केरलामा मनसुन सुरु भएको १० दिनमा सामान्यतया नेपालमा मनसुन भित्रिने गरेको छ ।

‘केरलामा पाँच दिनअघि नै मनसुन सुरु भइसकेको छ,’ मौसमविद् भट्टराईले भने, ‘नेपालमा पनि अब चार पाँच दिन भित्रै मनसुन सुरु हुने संकेत देखिएको छ ।’